रञ्जुको एकल चित्रकला : थप दुई दिन शुक्रवार सम्म चल्ने

 संवाददाता    २० चैत्र २०७५, बुधबार १६:५७     72 जनाले पढ़िसके


काठमाडौं ,चैत्र २० गते । चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छ । मिथिला चित्रकला प्रदर्शनी  थप दुई दिन(शुक्रवार) सम्म प्रदर्शनी हने भएका छन् ।

व्यावसायिक रूपमा मिथिला चित्रकलामा विगत छ वर्षदेखि सक्रिय यादवले पछिल्लो तीन वर्षमा कोरेका चित्रहरू एकल प्रदर्शनीमा राखेको बताइन् ।

नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभई समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार आफ्ना चित्रहरू कोरेकाले प्रदर्शनीको नाम ‘कलर्स अफ चेन्ज’ राखिएको उनको भनाइ छ ।

प्रदर्शित कलाचित्रहरूमध्ये केही चित्रहरू नेपालको तराई–मधेस र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली झल्काउने खालका छन् भने अधिकांश चित्रहरू समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन् ।

विशेषगरी दाइजो प्रथा, बालिका भ्रुण हत्या, बालविवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानता जस्ता जल्दाबल्दा समस्या र विकृतिलाई चित्रकार यादवले आफ्ना कलाचित्रमार्फत् देखाएकी मात्र छैनन्, उनले यी विसंगतिहरू मानव सभ्यताकै लागि कलङ्क र पछौटेपनको प्रतीक हुन् भन्ने सन्देश दिन खोजेकी छन् ।

‘हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध आफ्ना कलाचित्रहरूमार्फत् मैले आफ्ना असहमति र रिस पोखेकी हुँ’, चित्रकार यादवको भनाइ छ ।
‘कला कलाका लागि मात्र होइन, कला समाजका लागि पनि हुनुपर्छ भन्ने मेरो बुझाइ छ । त्यही बुझाइ र विश्वासअनुसार नै समाजमा व्याप्त विकृति, विसंगति, अन्याय र अत्याचारविरुद्ध मैले चित्रहरू कोर्ने गर्छु’, यादव भन्छिन् ।

चित्रकार यादवका कलाचित्रका तीन चरणहरू पाइन्छ । पहिलो, समाजमा व्याप्त समस्या र विकृतिको चित्रण । दोस्रो, समस्या र विकृतिसँग द्वन्द्व एवम् संघर्ष । तेस्रो, ती समस्या र विकृतिको समाधान ।

आफूले समाजमा विद्यमान विसंगति, विकृति र अन्यायको चित्रण मात्रै आफ्ना चित्रहरूमा नगरेको भन्दै चित्रकार रञ्जुले त्यसको समाधान पनि आफ्ना चित्रहरूमार्फत् सुझाएको बताइन् ।

तराईमा व्याप्त दाइजोरदहेज प्रथालाई लक्षित गर्दै त्यसको विरोधमा कोरिएका तीनवटा चित्र यादवले प्रदर्शनीमा राखेकी छन् । शिक्षा र स्वतन्त्रता दिएपछि मात्र महिला र पुरुषबीचको असमानता र भेदभाव हट्ने सन्देश चित्रकार यादवले केही चित्रमार्फत् दिएकी छन् ।

यस्तै, पति वैदेशिक रोजगारीमा गएपछि पत्नीले घरपरिवारदेखि घरबाहिरका सबै काम सम्हाल्नुपरेकाले महिला सशक्तीकरणमा कमी हुने अवस्थाको चित्रण पनि उनका चित्रमा पाइन्छ ।समाजमा व्याप्त विकृति, विसंगति र समस्यामाथि आफूले बनाएको चित्रकलालाई अग्रज र नयाँ पुस्ताले पनि सकारात्मक रुपमा लिएको रञ्जुले सुनाइन् । प्रदर्शनीमा दैनिक डेढरदुई सय मानिसहरु आउने गरेका छन् र समाजमा व्याप्त विकृति विसंगतीमाथि कोरिएका चित्रकलालाई चासोपूर्वक हेर्ने गरेका छन् ।